पूरा भयो स्केटपार्क

वैशाख १९, २०७४- पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको स्केटपार्कको निर्माण कार्य पूरा भएको छ । विदेशी स्वयंसेवकसम्मिलित संस्था ‘मेक लाइफ स्केट लाइफ’ को आर्थिक सहयोग र श्रमदानमा अन्नपूर्ण स्केटपार्क तयार भएको हो । संस्थाका निर्देशक जोन चाकोनासले शनिबार स्केटपार्क पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरेका छन् ।

२२ हजार अमेरिकी डलर लगानीमा निर्मित स्केटपार्कमा २० देशका ५० बढी स्वयंसेवकले श्रमदान गरेका थिए । ४ सय वर्गमिटर क्षेत्रफलमा निर्मित स्केटपार्क २१ दिनमा तयार भएको हो । स्केटपार्कमा एकैपटक सयभन्दा बढीले स्केटिङ गर्न सक्छन् । सबै स्वयंसेवक व्यावसायिक स्केटपार्क निर्माता रहेको जोनले बताए ।

‘यो स्केटपार्क विश्वकै उत्कृष्टमध्ये एक हो,’ उनले भने, ‘हिमाल हेर्दै स्केटबोर्ड खेल्न पाउनुको मज्जा अर्कै हुन्छ ।’ उनले बालबालिकाले स्केटिङमा आफ्नो भविष्य खोजुन् भन्ने उद्देश्यले विकासोन्मुख देशहरूमा स्केटपार्क निर्माण अभियान चलाएको बताए । कमजोर आर्थिक अवस्थाका बालबालिकालाई भविष्यमा स्केटबोर्ड, सुरक्षा सामग्री उपलब्ध गराउने योजना उनले सुनाए । उनका अनुसार भविष्यमा स्थानीय खेलाडीलाई आफै स्केटपार्क बनाउन प्रेरित गरिनेछ ।

बेल्जियमबाट आएकी स्वयंसेवक किम इभेन्सले स्थानीयस्तरमा बालबालिकालाई धेरैभन्दा धेरै अवसर सिर्जना गर्न स्केटपार्कले सहयोग पुग्ने बताइन् । ‘सडकमा घुमिरहने बालबालिका जाने ठाउँ भएको छ,’ उनले भनिन्, ‘ठूला खेलाडीबाट प्रेरणा लिएर उनीहरूले सिक्न सक्नेछन् ।’

पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले २१ दिनमै स्केटपार्कको संरचना तयार गरेकामा मेक लाइफप्रति आभार प्रकट गरे । उनले स्केटपार्कको पोखरेली युवाले भरपूर उपयोग गर्नुपर्ने बताए । स्केटपार्कलाई व्यवस्थित बनाउन समितिले विशेष योजना बनाउने उनले सुनाए । स्केटपार्कको शनिबार नै युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले अनुगमन गर्दै विदेशी स्वयंसेवकको कामको प्रशंसा गरे ।

मेक लाइफ स्केट लाइफ विभिन्न देशमा नि:शुल्क सामुदायिक स्केटपार्क निर्माण गर्न खुलेको संस्था हो । यसले यसअघि नेपालबाहेक भारत, बोलिभिया, जोर्डन, म्यानमार र इथियोपियामा विश्वस्तरको स्केटपार्क निर्माण गरिसकेको छ । संस्थाले क्राउड फन्डिङको माध्यमबाट स्केटपार्क निर्माण गर्न आर्थिक सहयोग जुटाउँछ ।

पोखरामा अन्नपूर्ण स्केटपार्क बनाउन संस्थाले क्राउड फन्डिङ वेबसाइट इन्डिगोगाडटकममा अभियान चलाएको थियो । उक्त अभियानमा हालसम्म १९ हजार अमेरिकी डलर संकलन भएको छ । नपुग रकम संस्थाले बेहोर्ने निर्देशक जोनले बताए । लेकसाइडमा स्केटपार्क सञ्चालन गरिरहेका रामकृष्ण कोइरालासँग ६ महिनाअघि जोनको भेट भएपछि पोखरामा स्केटपार्क बनाउने योजना बनेको हो । पश्चिमाञ्चल खेलकुद विकास समितिले स्केटपार्कको लागि जग्गा उपलब्ध गराएको थियो ।

न्युजिल्यान्डको रिफर्ब स्केट नामक महिला स्केटरको टोली ३ साताको स्केटबोर्ड कार्यशालाका लागि आइतबार पोखरा आउँदै छ । महिलालाई स्केटिङमा आकर्षित गर्ने उद्देश्यले टोली नेपाल आउन लागेको समिति अध्यक्ष पौडेलले बताए ।

Read More

  •