• Home
  • News & Media
  • ट्रेनिङ सेन्टर बनाउँदै विदेशी

ट्रेनिङ सेन्टर बनाउँदै विदेशी

पोखराः विदेशको कुनै निर्माण कम्पनीमा त्यहीँका नागरिकले काम गरिरहेको झल्को दिनेगरी यतिबेला पोखरा रंगशालामा विदेशीहरू स्केटिङको अन्तर्राष्ट्रिय ट्रेनिङ सेन्टर निर्माणमा जुटिरहेका छन् । नेपालमै पहिलोपटक बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको स्केटिङ ट्रेनिङ सेन्टर निर्माणका लागि १६ देशका ३५ जना पर्यटक पोखरा रंगशालामा व्यस्त हुन् ।

विदेशी नागरिकले टे«निङ सेन्टर निर्माणका लागि आआफ्नो सीप लगाइरहेका छन् । तीन इन्जिनियरसहितको टोली चर्को घाममा करिब एक सातादेखि ग्राउन्डको नापजाँच गर्ने, काठ र रड काट्ने, गैंची—बेल्चा चलाएर मोटो बोक्ने काममा जुटिरहेका छन् । स्केटिङ खेलका लागि चाहिने विभिन्न आकृति दिनेदेखि लिएर त्यसमा ढलान गर्न आवश्यक फ्रेम बनाउने कार्यमा पनि अन्तर्राष्ट्रिय स्केटिङ संघका पदाधिकारी र सदस्यहरू आफैं जुटेका छन् ।

पछिल्लो समय स्केटिङ खेल विश्वभर लोकप्रिय भइरहेको अवस्थामा नेपालमा भने पर्याप्त सम्भावना हुँदाहुँदै पनि यो खेलको विकास नभएकाले अन्तर्राष्ट्रिय स्केटिङ संघले अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ सेन्टर निर्माण गरिरहेको जानकारी संस्थाका अप्रेसन म्यानेजर जोन चोकोन्सले दिए । नेपालमा स्केटिङ ट्रेनिङ सेन्टर कसरी बनाउने भन्ने कुराको प्राविधिक ज्ञान दिनका लागि पनि संस्थामा आबद्ध पदाधिकारी र सदस्यहरू नै आएर स्वयंसेवकको रूपमा काम गरिरहेको उनले बताए ।

यहाँ भइरहेको कामबाट सिकेर देशको अन्य क्षेत्रमा पनि यस्ता सेन्टर निर्माणमा स्थानीय आफैं सक्रिय हुने विश्वास पनि उनले व्यक्त गरे । ट्रेनिङ सेन्टर निर्माणका लागि २५ हजार अमेरिकी डलर खर्च हुने जानकारी पनि उनले दिए । बेलायत, अमेरिका, फ्रान्स, जर्मनी, डेनमार्क, रूस, दक्षिण कोरिया, बेल्जियमलगायतका देशका नागरिक ट्रेनिङ सेन्टर निर्माणमा खटिएका छन् । २१ दिनमा ट्रेनिङ सेन्टरको निर्माण सकेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको बताइएको छ । ट्रेनिङ सेन्टर निर्माणपछि संस्थाले नेपाली खेलाडीलाई प्रशिक्षण दिन केही समय प्रशिक्षकको व्यवस्थासमेत गर्ने बताइएको छ । यसबाट नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टुवा पुग्ने विश्वास लिइएको छ ।

अन्तर्राष्ट्रिय स्केटिङ संघको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा पोखरा रंगशाला परिसरमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको स्केटिङ ट्रेनिङ सेन्टर निमार्ण कार्य भइरहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । सन् २०२० मा जापानको राजधानी टोकियोमा हुने ओलम्पिक खेललाई लक्षित गरी अन्तर्राष्ट्रिय स्केटिङ संघको सहयोगमा खेलाडी उत्पादन गर्न स्केटिङ ट्रेनिङ सेन्टर उपयोगी सिद्ध हुने विश्वास पौडेलले व्यक्त गरे ।

ट्रेनिङ सेन्टरको निर्माणपछि नेपालमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्ने क्षमतावान् खेलाडी उत्पादन हुने धारणा नेपाल स्केटिङ क्लब पोखराका अध्यक्ष रामचन्द्र कोइरालाले व्यक्त गरे । ट्रेनिङ सेन्टर बनेपछि पोखरामा अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिताको आयोजना गरी खेल पर्यटनको विकासमा टेवा पुर्‍याउन सकिने उनले बताए ।

नेपालमा स्केटिङ खेलको विकासका लागि भोलेन्टियरको रूपमा काम गर्न पाउँदा खुसी लागेको निर्माणकार्यमा संलग्न फ्रान्सेली नागरिक लिजा जेकवले बताइन् । संघले स्केटिङ खेलको विकासका लागि म्यानमार, इथियोपिया, जोर्डन, भारतलगायत देशमा पनि ट्रेनिङ सेन्टर निर्माण गरिसकेको बताइएको छ ।

Read More